राजेश जी सी,प्युठान, जेष्ठ २८ ।।
घरको चुलो चौकोमा सिमित रहेका प्यूठानका महिलाहरु पछिल्लो समय मौसमी तथा बेमौसमी तरकार खेतीतर्फ लागेका छन । प्यूठान जिल्लाका अधिकांस ग्रामिण तथा सहरी क्षेत्रका महिला तरकारी खेती तर्फ आकर्षित भएका हुन ।
प्यूठान जिल्लाका ग्रामीण क्षेत्रदेखि बजारिया क्षेत्रका महिलाहरु मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेपछि आफ्नै कमाइमा रमाउन थालेका छन् । हातमा सीप र परिश्रम गरे जुनसुकै कार्य पनि सहज रुपमा सफल हुने र त्यसबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने उनीहरुले गतिलो उदाहरण दिएका छन ।
जिल्लाको प्यूठान नगरपालिका ८ खप्रेङखोलाका अधिकांश महिलाहरु तरकारी खेतीवाटै आफ्नो तथा परिवारको खर्च जोहो गर्र्दै आएका छन । आफ्नो श्रीमानको कमाइले मात्र परिवारको खर्चपर्च व्यवस्थापन गर्न कठिन भएपछि तरकारी खेती गर्ने थालेको उनीहरुले बताएका छन् । श्रीमानको कमाइले परिवारको खर्च, छोराछोरीको पढाइलेखाई तथा विरामी पर्दा समस्या हुने भएपछि तरकारी खेती गर्ने लागेको प्यूठान नगरपालिका ८ खप्रेङखोलाकी कमला पन्थीले वताइन् । उनले भनिन्,“ करिब ६ वर्ष यतादेखि तरकारी खेती गर्दै आएकी छु, तरकारी खेतीबाट परिवार धान्ने दरिलो आधार बनेको छ ।”
‘७ जनाको परिवार रहेको घरमा छोरा छोरीको पठाइलेखाईदेखि विहान सांझ हातमुख जोर्न र दुख विरामी हुंदा औषधी उपचार गर्ने खर्च तरकारी खेतीवाटै गर्ने गरेको उनी बताउछिन । कृषक कमलाले भनिन ‘परिवारको खर्च ब्यवस्थापनको लागी सानोतिनो किराना पसल गरेपनि त्यसबाट राम्रो कमाइ भएन । खर्च ब्यवस्थापनको लागी किराना पससगै तरकारी खेती गरि सबै खर्च चालाउने गरेकी छु ।’ सानो लगानीमा राम्रो आम्दानी गर्ने सकिने हुँदा करिब १ रोपनी जमिनको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी फलाउदै आएको उनको भनाइ छ ।
त्यस्तै आफूलाई एउटा सफल कृषकको रुपमा चिनाउन सफल भएकी अर्की कृषक विपना भण्डारी पनि करिब ४ वर्षदेखि तरकारी खेतीमा रमाउँदै आएकी छिन् । साढे २ रोपनी जग्गा भाडामा लिएर ५० हजार लागानीमा सुरु गरेको तरकारी खेतीबाट बार्षिक ३ लाख कमाइ हुने गरेको भण्डारीले बताइन् । उनले भनिन्, श्रीमानको कमाइ खर्च गर्दा धेरै समस्या हुदो रहेछ । श्रीमानसग खर्च माग्दा तथा धेरै खर्च हुदाँ झगडा हुदो रहेछ ।” आफ्नो कमाइ खर्च गर्दा निकै सजिलो हुने उनले अनुभव सुनाइन । ‘सुरुमै एक लाख पचास हजार रकमको जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेको हुंँ’ सफल कृषक विपनाले भनिन ‘अहिले आफ्नो कमाइमा रमाउनुको मज्जा नै बेग्लै छ र आफ्नो मेहनतको कमाइ निकै प्यारो हुँदो रहेछ ।’ सानो तिनो खर्चको लागि पनि श्रीमानसंग पैसा माग्नु पर्ने अवस्था सिर्जना हुंदा कतिपय महिलाहरु हेपिनु परेको भण्डारीले बताइन । मौसमको प्रकृति अनुसार आलु, भन्टा, टमाटर, खुर्सानी, बन्दा, काउली, सिमी लगायतका तरकारी फलाउदै आएको उनको भनाइ छ । उनले उत्पादन गरेको तरकारी जिल्लाको वाग्दुला,विजुवारका साथै दम्तीमा विक्रि हुदै आएको छ । जिल्लामा तरकारीका लागी कुनै समस्या नभएको उनी वताउछिन ।