फागुन ०७,प्यूठान
सरकारले १ करोडभन्दा कम बजेटका सडकमा डोजर लगाउन प्रतिबन्ध गरेपछि प्यूठानमा सडक निर्माण रोकिएको छ । यहाँका अधिकांश स्थानीय तहले बनाउने सडक १ करोडभन्दा कम बजेटका छन् । जिल्लाका ९ स्थानीय तहले निर्माणाधीन सानाठूला सडकमा डोजर प्रयोग गरिरहेका छन् ।
अधिकांश स्थानीय तहले सडक निर्माणलाई प्राथमिकतामा राखेकाले सरकारको निर्णयपछि अन्योलमा परेको जनप्रतिनिधिहरूले बताएका छन् । झिमरुक गाउँपालिकाका सूचना अधिकारी निमप्रसाद भण्डारीले सडक निर्माण कसरी बढाउने भन्नेमा अन्योल सृजना भएको जानकारी दिए ।
‘सरकारले स्थानीय स्तरमै जनतालाई रोजगारी दिने उद्देश्यले कम बजेटका सडकमा डोजर प्रयोगमा रोक लगाउने निर्णय स्वागतयोग्य छ,’ उनले भने, ‘तर यो निर्णयले निर्माण लागत बढ्ने हुँदा समस्या निम्त्याउन सक्छ ।’
उनका अनुसार सरकारले डोजर प्रयोगमा रोक लगाए पनि गाउँपालिकाले अहिले निर्माण गरिरहेको सबै सडकमा डोजर प्रयोग गरेको छ । ‘सरकारले गरेको निर्णयमा गाउँपालिकाको बैठकले के गर्ने भन्ने निर्णय गर्नेछ,’ भण्डारीले भने । आर्थिक अभियानले समाचार लेखेको छ ।