बुद्धि पुन, सल्यान २१, चैत ।
सल्यानमा जनप्रतिनिधिका छोराछोरीहरुलाई सामुदायिक बिद्यालयमा अनिबार्य भर्ना गर्नुपर्नेभएको छ । सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदैँ गएको गुणासो बढ्दै गईरहेको समयमा सामुदायिक बिद्यालयप्रति अभिभावकहरुको सकारात्मक बुझाईको बिकास गर्न जनप्रतिनिधिका छोराछोरीहरुलाई अनिबार्य रुपमा सामुदायिक बिद्यालयमा भर्ना गर्न लागिएको हो । जिल्लाको दार्मा गाउपालिकाले जनप्रतिनिधि र गाउँपालिका भित्रका सरकारी सेवासुविधा प्राप्त गर्ने सम्पूर्ण कर्मचारीका छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो । गाउँपालिकाको चैत २० गते सम्पन्न कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । समाजमा कायम रहेको सामुदायिक र नीजि विद्यालयमा हुने विभेदलाई हटाउन गाउपालिकाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । उहाँले अब हुने नयाँ विद्यार्थी भर्ना अभियानलाई लक्षित गरि यो अभियानलाई अगाडी वढाउने निर्णय गरेको बताउनुभयो । उहाँले गाउपालिकाको निर्णयको उल्लंघन गरेर सामुदायीक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि र सरकारी कर्मचारीको तलब रोक्का हुने बताउनुभयो । दार्मा गाउँपालिकामा ५ मावि, १२ निमावि, १५ प्रावि र ३६ बाल बिकास रहेका छन् । नयाँ शैक्षिक सत्र बाट शुरु हुने बिद्यार्थी भर्ना अभियानलाई गाउपालिकाले अभियान कै रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।