चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।
भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा ल्याइएको हो । भरतपुर, गैँडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न सकिने उक्त रिसोर्ट २२ बिघा क्षेत्रफलमा फैलिएको छ ।
कविलास रिसोर्ट प्रालिका अध्यक्ष इञ्जिनीयर बाबुराम उपाध्यायका अनुसार पर्यटकीय महत्व बोकेको यस जिल्लामा फरकपन दिने गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । हाल रिसोर्टमा ७५ ओटा कोठा रहेका छन् । रिसोर्टको क्षमता विस्तार गर्दै १०० ओटा कोठा पुर्याउने लक्ष्य रहेको उपाध्यायले जानकारी दिए । हाल सञ्चालनमा आइसकेको भए पनि पूर्णरुपमा काम सम्पन्न गर्न रू. एक अर्ब लगानी लाग्ने उनको भनाइ छ ।
नारायणगढ–मुग्लिन सडकखण्डबाट १ दशमलव ८ किलोमिटर माथि रहेको रिसोर्ट पुग्न नारायणगढ बजारबाट १२ किलोमिटरको दूरी पार गर्नुपर्दछ । रिसोर्टसम्म जान नारायणगढबाट बससमेत सञ्चालन गरिँदै आएको छ ।
रिसोर्टमा सात ओटा भिल्ला छन् । तिनमा छ जना प्रत्येकमा बस्न सकिने व्यवस्था छ । एक रातमा रिसोर्टमा कोठा र भिल्लामा गरी १६० जनासम्म सजिलोसँग बस्न सकिने उपाध्यायले जानकारी दिए । तीन ओटा बैठक हल रहेका छन् । एउटामा ३०० र बाँकी दुई ओटा बैठक हलमा २००÷२०० जना अट्ने क्षमताका रहेका छन् ।
आर्थिक अभियानमा समाचार छ ।